द्वन्द्वका बेलामा बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मुल बनाइ शान्ति प्रक्रियाका बाँकी कामहरु तत्काल टुंग्याउन सांसदहरुले जोड दिएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा भएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विषय छलफलमा बोल्दै अधिकांश सांसदहरुले बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मुल बनाएर द्वन्द्वका बेलाका बाँकी कामहरु राष्ट्रिय सहमतिमा तत्काल टुग्याउनु पर्नेमा जोड दिएका हुन् । सांसदहरुले युद्धका बेलाका द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवै मिलेर सरकार सञ्चालन गरिरहेकाले शान्तिप्रक्रियाको बाँकी काम तत्काल समाधान गर्न आवश्यक रहेको बताए । उनीहरुले शान्तिप्रक्रियाका बाँकी काम तत्काल नटुंग्याए समाजमा पुनः द्वन्द्व निम्तने खतरा बढेको बताए । राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले राजनीतिक पार्टीहरुको बीचमा द्वन्द्वका बेलाका बाँकी कामहरु टुंग्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले इगो बनाई सरकारले तत्काल टुंग्याएर शान्तिपूर्ण रुपमा लैजान नसके समाजमा द्वन्द्व सिर्जना हुने बताउनु भयो । उहाँले सरकारले शान्ति सम्झौता गरे पनि समाजमा विभिन्न खालका द्वन्द्व अहिले पनि रहेको बताउनु भयो । उहाँले द्वन्द्वका बेला बिछ्याएका विष्फोटक पदार्थ लगायत अन्य विषयमा राज्यपक्ष समेत गम्भिर भएर समयमा नै टुंग्याए मात्रै बालबालिकालाई जोगाउन सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘राजनीतिक पार्टीहरुको बीचमा द्वन्द्वका बेलाका बाँकी कामहरु टुंग्याउन आवश्यक छ । कसैले इगो नबनाई सरकारल टुंग्याउन सकेनौं र शान्तिपूर्ण रुपमा लैजान सकेनौं भने समाजमा द्वन्द्व अहिले पनि छ । सरकारले शान्ति सम्झौता गरे पनि समाजमा विभिन्न खालका द्वन्द्व अहिले पनि छ । द्वन्द्व बाँकी कामलाई पूरा गर्ने हामी सबैको काम हो । द्वन्द्वका बेला विछ्याएका विष्फोटक पदार्थ लगायत अन्य विषयमा राज्यपक्ष समेत गम्भिर भएर समयमा नै टुंग्याए मात्रै बालबालिकालाई जोगाउन सक्छौं ।’
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले द्वन्द्वका बेलाका बारुदी सुरुङ र विस्फोटक पदार्थ घटनाहरुका बाँकी कामहरु अझै बाँकी रहेको बताउनु भयो । उहाँले द्वन्द्वका बाँकी काम तत्काल टुंग्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग कानूनी रुपमा टुग्याउनुपर्ने बताउनु भयो । उहाँले बारुदी सुरुङ र विस्फोटक पदार्थबाट हुने घटनाहरु राष्ट्र र अन्तर्राष्ट्रिय समस्या भएको बताउनु भयो । उहाँले साझा सवाल बनाएर द्वन्द्वका घाउहरु कोट्याउने भन्दा पनि अरु घाउ बढ्न नदिने कुरामा सररकार सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहाँले जनयुद्धको बेला सरकारी पक्षबाट होस वा बिद्रोही पक्षबाट कोही न कोही प्रभावित भएको भन्दै विद्रोही पक्षसँग युद्ध गर्ने हतियारहरु भएर नै शान्ति सम्झौता भएको दाबी गर्नुभयो । उहाँले शान्तिप्रक्रियाको बाँकी काम हल गर्नको लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले शान्ति सम्झौताको काम बाँकी राखियो भने कुनैपनि बेला युद्धको बेला बम बनाउने सिकेकाले प्रयोग गर्नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘द्वन्द्वका बेलाका बारुदी सुरुङ र बिस्फोटक पदार्थ घटनाहरुका बाँकी कामहरु अझै छन् । जबसम्म यसको शान्तिपूर्ण अवतरणको आवश्यकता जे छ त्यो अझै बाँकी छ । त्यसलाई अब टुंग्याउनुपर्छ । विशेष गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग छ । यसलाई हामीले दोहोरो मापदण्डले हेछौं । यो राष्ट्र र अन्तर्राष्ट्रिय समस्या पनि हो । साझा सवाल बनाएर द्वन्द्वका घाउरु कोट्याएर रगत आउने बनाउने भन्दा पनि अरु घाउ नपाउनु भन्ने कुरामा सचेत हुनुपर्छ । तब मात्रै हल हुन्छ । जनयुद्धको बेला सरकारी पक्षबाट होस् वा विद्रोही पक्षबाट कोही न कोही प्रभावित छौं । विद्रोही पक्षसँग युद्ध गर्ने हतियारहरु छन् भनेर नै शान्ति सम्झौता भएको हो । शान्ति प्रक्रिया नटुंग्याएसम्म राजनीतिक आवरण दिनेले अवसर पाउँछ । उल्झाउने भन्दा पनि सुल्झाउनतिर लाग्नुपर्छ । शान्ति प्रक्रियाको बाँकी काम हल गर्नको लागि राष्ट्रिय सहमति आवश्यक छ । बाँकी राखियो भने कुनैपनि बेला युद्धको बेला बम बनाउने सिकेकाले प्रयोग गर्नसक्छ । संसद भएपनि बम बनाउने सीप नबिर्सिएको छैन ।’
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले पनि युद्धको बेलाका राज्य पक्ष र द्वन्द्वरत पक्ष भएपनि अहिले दुबै पक्षले राज्य सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले दुवैले द्वन्द्वको बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थबाट भइरहेको घटना नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार नै द्वन्द्वरत पक्षको नेतृत्वमा रहेकाले शान्तिप्रक्रियाका बाँकी काम सक्न आवश्यक रहेको बताउनु भयो । उहाँले द्वन्द्वको बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थबाट घाइते भएकाहरुको जिविकोपार्जनको लागि राज्यले गर्नुपर्ने कामको लागि टिआरपी विद्येयक आवश्यक नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘युद्धको बेलाका राज्य पक्ष र द्वन्द्वरत पक्ष भएपनि अहिले दुबै पक्षले राज्य सञ्चालन गरिरहेको अवस्था छ । अहिले भइरहेको बारुदी सुरुङ र विस्फोटक पदार्थबाट भइरहेको घटना नियन्त्रण गर्न के ले छेकेको छ । थाहा नभएर हो वा थाहा भएर पनि पैसा नभएको होकी ? पैसा नहुने पक्ष भनेको हुँदैन भन्ने लाग्छ । अहिलेको सरकार नै द्वन्द्वरत पक्षको नेतृत्वमा छ । बारुदी सुरुङ र विस्फोटक पदार्थमा परेर घाइतेहरु १०१ मानिसहरुलाई राज्यले जिविकोपार्जनको लागि के गरेको छ । बारुदी सुरुङ र विस्फोटक पदार्थमा परेर घाइते भए सर्वसाधरण मानिसहरुले टिआरपी विद्येयक पर्खिएर बस्नुपर्ने अवस्था छैन । यिनीहरुको संरक्षण र क्षेतीपूर्ति के गरिएको छ । त्यो महत्वपूर्ण छ ।’
त्यस्तै बैठकमा बोल्दै बारुदी सुरुङ प्रतिवन्ध अभियानता पूर्णशोभा चित्रकारले सरकारले बनाएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विरुद्धको ऐनको राज्यले पालना नगरेको बताउनु भयो । उहाँले सर्वसाधरणको लागि ऐन लागू भएपनि राज्यले पालना नगरेको दाबी गर्नुभयो । उहाँले शान्ति सम्झौतापछि २७ वटा राजनीतिक पार्टीहरुले बारुदी सुरुङ र विस्फोटक पदार्थ नियन्त्रणको लागि सम्झौता पत्रमा हस्ताक्षर भएपनि कार्यान्वयन कसैले नगरेको बताउनु भयो ।
उहाँले संसदबाट टिआरपी विद्येयक तत्काल पास हुन आवश्यक रहेको भन्दै विधेयकमा पीडितहरुले न्याय पाउने किसिमको हुनुपर्ने बताउनु भयो ।

