राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपिल

राजनीति हेडलाइन

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले विभिन्न पाँच तर्कहरू प्रस्तुत गर्दै राष्ट्रपति पौडेलको हातबाट दसैँ टीका नलगाउन अपिल गरेका हुन् ।

नेता मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक बोकेको हुनुपर्नेमा अहिलेसम्म भएका तीन जना राष्ट्रपतिले पार्टी, गुट र नेताको रुपमा आफूलाई उभ्याएको आरोप लगाएका छन् ।

‘अब त झन् सबै पार्टीले जटिल समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दो रहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै सम्भावना छैन, ‘राष्ट्र र राज्य’को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ मिश्रले भनेका छन् ।

हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएका व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना ताजै भएको उनले स्मरण गरेका छन् ।

त्यसैगरी उनले राष्ट्रपतिले नै दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरिदिएको भन्दै सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन् ।

‘असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादसैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप-कर्म’ आम-जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन । देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने ?’ मिश्रले भनेका छन्, ‘ राष्ट्रपति पौडेलले आह्वान गरेको दसैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले बहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्म’ को नैतिक सजाय दिऊँ । यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *