कोशीमा नयाँ सरकार गठनको आह्वान

राजनीति हेडलाइन

काठमाडौं, २० असोज । कोशी प्रदेशमा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। 
नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन्। 
शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्। 
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन्। यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन्।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *