ई-प्रेस मिडिया, चैत्र २०, २०८१
नेपाल र थाइल्यान्डबीच बुधबार बैंककमा आयोजित एक औपचारिक कार्यक्रममा आठवटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भएको उच्चस्तरीय दुईपक्षीय भेटवार्तापश्चात् यी सम्झौताहरू सम्पन्न भएका हुन्।
हस्ताक्षरित आठ सम्झौता र समझदारीपत्रमध्ये दुईवटा सरकारी तहमा र छवटा निजी क्षेत्रबीच भएका छन्। सरकारीस्तरका सम्झौताहरूमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हस्ताक्षर गर्नुभएको थियो। थाइल्यान्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतामा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गर्नुभएको थियो।
निजी क्षेत्रतर्फ नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच व्यापारिक सहकार्य र व्यवसाय विस्तारका लागि समझदारी भएको छ। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न यो समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गर्नुभयो।
यो समझदारीले नेपाल र थाइल्यान्डबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्यलाई प्रोत्साहन गर्ने र व्यापार तथा लगानी विस्तारका लागि संरचनात्मक आधार तयार गर्ने उद्देश्य राखेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
यसैगरी, नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्डको पर्यटन परिषद्बीच पनि सम्झौताहरू सम्पन्न भएका छन्। साथै, शैक्षिक सहकार्यका लागि काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यी सम्झौता र समझदारीहरूले नेपाल र थाइल्यान्डबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।
ई-प्रेस मिडिया

