मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

अन्तराष्ट्रिय राजनीति हेडलाइन

ई-प्रेस मिडिया, चैत्र २०, २०८१

हालै म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपछि नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमारतर्फ प्रस्थान गरेको छ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानमार्फत म्यानमार पुगेको हो। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’ समावेश छन्। चिकित्सकीय टिममा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन्।

विभिन्न प्रकृतिका आवश्यक औषधि र उपकरणहरूसहित गएको यो टोलीले म्यानमारमा भूकम्पबाट घाइते भएकाहरूको स्वास्थ्य उपचारमा करिब एक साता खटेर सेवा प्रदान गर्नेछ।

नेपाल सरकार र नेपाली सेनाको यो मानवीय सहयोगले म्यानमारका पीडितहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

ई-प्रेस मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *