काठमाडौँ प्रहरीको अपिल: सामाजिक सञ्जालमा भ्रामक समाचार नफैलाउन चेतावनी

प्रदेश-पालिका राजनीति हेडलाइन

ई-प्रेस, काठमाडौँ
चैत्र १८, २०८१

जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले एक प्रेस विज्ञप्ति जारी गर्दै चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे भ्रामक सूचना फैलिएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिइएको आन्दोलनले हिंसात्मक रूप लिएको थियो। आन्दोलनका क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी र तीनकुनेमा एक घरभित्र मानिस रहेको अवस्थामा आगजनी गरी मृत्युसमेत भएको घटनाले स्थिति गम्भीर बनेको छ। प्रहरीले यी आपराधिक गतिविधिको सत्यतथ्य बुझ्नुअघि नै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै आपत्ति जनाएको हो।

विशेषगरी, मृतकको पोष्टमार्टम प्रक्रिया सुरु नहुँदै ‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ’ जस्ता भ्रामक समाचार सामाजिक सञ्जालमा फैलिएको प्रहरीले उल्लेख गरेको छ। यस्ता गलत सूचनाले जनमानसमा नकारात्मक प्रभाव पार्ने भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रहरीले घटनाको वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न र यस्ता सूचनाले समाजमा भ्रम सिर्जना गर्न सक्ने भएकाले सचेत रहन सबैमा अनुरोध गरेको छ। साथै, शान्ति–सुरक्षा कायम राख्न र सत्यतथ्य छानबिनमा सहयोग गर्न प्रहरीले अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *