काठमाडौं, चैत्र १६, २०८१
काठमाडौं महानगरपालिकाले शुक्रबार (चैत १५) राजावादी प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तिराउने तयारी गरेको छ। महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले क्षतिको प्रकृतिअनुसार कानुनबमोजिम जरिवाना लगाइने बताए।
उनले भने, “महानगरले सहरी योजना आयोग, सहरी व्यवस्थापन विभाग र महानगर प्रहरी बलसहितको टोली बनाएर क्षतिको अध्ययन शुरू गरेको छ। टोली हिजोदेखि नै फिल्डमा खटिएको छ। एक घण्टाभित्रै के कति जरिवाना हुन्छ भन्ने स्पष्ट हुन्छ।”
शुक्रबार तीनकुने, जडीबुटी, कोटेश्वर लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र सवारी साधनमा ठूलो क्षति भएको थियो। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी, भाटभटेनी सुपरमार्केटमा लुटपाट र दर्जनौं सवारी साधन जलाइएको घटनापछि महानगरले यस्तो कदम चालेको हो।
महानगरले विगतमा पनि प्रदर्शनका क्रममा फोहोर र क्षति पुर्याउने समूहलाई जरिवाना तिराएको नजिर छ। यसपटक पनि कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति भराउने र दोषीमाथि कारबाही गर्न पहल गरिने अर्यालले बताए। क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि प्रारम्भिक अनुमानले करोडौंको नोक्सानी भएको संकेत गरेको छ।

