काठमाडौं, चैत्र १६, २०८१
शुक्रबार पूर्वराजाका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएपछि त्यहाँको अवस्था भयावह बनेको छ। चैत्र १५ गते भएको तोडफोड र आगजनीमा कम्पनीको मुख्य भवन, कारखानाका सामान र पार्किङमा राखिएका चारवटा चारपाङ्ग्रे तथा दुईवटा दुईपाङ्ग्रे सवारी साधन जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीहरूले जडीबुटी लगायत वरपरका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक तोडफोड, लुटपाट र आगजनी गरेका थिए। सोही क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको हो। आगजनीका कारण इतिहास बोकेको उक्त भवनको अधिकांश भागमा ठूलो क्षति पुगेको छ भने कारखानाभित्रका सामानहरू जलेर नष्ट भएका छन्। काठमाडौं उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएपछि मात्र आगो नियन्त्रणमा आएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको हिंसात्मक प्रदर्शन र आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ। तीमध्ये ९ वटा सरकारी सवारी साधन र ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधन छन्। प्रहरीको प्रारम्भिक अध्ययनले प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी भएको, ९ वटा संस्था र कार्यालय तोडफोड भएको तथा कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भएको देखाएको छ।
जडीबुटी कम्पनीमा भएको आगजनीले त्यहाँको उत्पादन र प्रशोधन कार्य पूर्ण रूपमा ठप्प भएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ भने हिंसामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम तीव्र बनाएको छ। यस्तो हिंसाले काठमाडौंको व्यापारिक र औद्योगिक क्षेत्रमा ठूलो आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।

