काठमाडौं, चैत्र १६, २०८१
ईप्रेस मिडिया
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसीबी) ले चेन्नई सुपर किंग्स (सीएसके) लाई ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ। बेंग्लुरूले प्रस्तुत गरेको १९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर मात्र १४६ रन बनाउन सक्यो।
चेन्नईको ब्याटिङ संघर्ष
चेन्नईका लागि पूर्वकप्तान महेन्द्रसिंह धोनीले नटआउट ३० रन बनाएर टोलीलाई सम्हाल्ने प्रयास गरे। उनले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त भएन। ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौकासहित ४१ रनको योगदान दिए। त्यस्तै, रविन्द्र जडेजाले २५, शिवम दुबेले १९ र रविचन्द्रन अश्विनले ११ रन जोडे। तर, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा चेन्नईको इनिङ्स कमजोर बन्यो।
बेंग्लुरूका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जोश हेजलउडले ३ विकेट लिँदै चेन्नईको मध्यक्रम ध्वस्त पारे भने यश दयाल र लियाम लिभिङस्टोनले समान २-२ विकेट हात पारे। भूवनेश्वर कुमारले पनि १ विकेट लिँदै योगदान दिए।
बेंग्लुरूको बलियो ब्याटिङ
यसअघि पहिले ब्याटिङ गरेको बेंग्लुरूले २० ओभरमा ७ विकेट गुमाएर १९६ रनको सम्मानजनक स्कोर खडा गरेको थियो। कप्तान रजत पाटीदारले अर्धशतकीय पारी खेल्दै टोलीको आधार तयार पारे। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। ओपनर फिल साल्टले ३२, विराट कोहलीले ३१, टिम डेविडले २२ र देवदत्त पाडिकलले २७ रन जोडेर इनिङ्सलाई बलियो बनाए।
चेन्नईका बलरहरूमा नूर अहमदले ३ विकेट लिएर बेंग्लुरूको रन गतिलाई रोक्ने प्रयास गरे। मथिशा पाथिरनाले २ विकेट हात पारे भने खलिल अहमद र रविचन्द्रन अश्विनले समान १-१ विकेट लिए।
बेंग्लुरूको लगातार दोस्रो जित
यो जितसँगै बेंग्लुरूले आईपीएल २०२५ मा लगातार दोस्रो विजय हासिल गरेको छ। यसअघि पहिलो खेलमा उसले साविक विजेता कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो। अर्कोतर्फ, चेन्नईको यो सिजनको पहिलो हार हो। उसले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएर सुखद सुरुवात गरेको थियो।
बेंग्लुरूको यो शानदार प्रदर्शनले टोलीको मनोबल उच्च भएको छ भने चेन्नईले आगामी खेलमा आफ्नो रणनीति सुधार गर्नुपर्ने देखिएको छ। आईपीएलको यो रोमाञ्चक यात्रा अझै जारी रहँदा दुवै टोलीका समर्थकहरू अर्को खेलको प्रतिक्षामा छन्।

