चैत्र कृष्ण औँसीमा काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

कला हेडलाइन

काठमाडौं, चैत्र १६, २०८१
ईप्रेस मिडिया

आज चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले विगतमा शहरका बालबालिकालाई खाने गरेको र स्थानीयवासीले विभिन्न उपायबाट त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा पुनः जागृत भई बालबालिकालाई हानि पुर्‍याउन सक्ने भय कायमै रहेको छ।

यही विश्वासका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा आयोजना गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने परम्परा चलिआएको हो। साथै, शहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने कामनासहित आज राति सोही रूखको फेदमा गुरुमापालाई खानेकुरा चढाउने प्रचलन पनि छ।

यस अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका प्रदर्शनीहरू प्रस्तुत गर्दैछ। त्यस्तै, आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा कायमै छ।

यो पर्वले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको छ भने काठमाडौं उपत्यकावासीको परम्परा र विश्वासलाई जीवन्त राख्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *