(इप्रेस मिडिया, चैत १३, २०८१)
नेपाल पुलिस क्लबले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै प्रधानमन्त्री कप (PM Cup) २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ। यो पुलिसको लगातार आठौं जित हो, जसले गत संस्करणको अपराजित यात्रा दोहोर्याउने संकेत गरेको छ।
देउखुरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लब ४८ ओभरमा १४७ रनमै अलआउट भयो। जवाफमा, कर्णाली २४ ओभरमै १०३ रनमा समेटियो। पुलिसका इन-फर्म बलर ललितनारायण राजबंशीले पाँचौ पटक पाँच विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त गरे। उनले ६ विकेट लिएर ४१ रन खर्चिए।
यसै जितसँगै पुलिस १६ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। त्रिभुवन आर्मी क्लब (१४ अंक) र एपीएफ क्लब (१२ अंक) दोस्रो फाइनलिस्ट बन्ने होडमा छन्। बिहीबार आर्मीले पुलिसलाई हराएमा फाइनल पुग्नेछ, तर एपीएफले बुधबार कोशी प्रदेशलाई ठूलो अन्तरले हराउँदै आर्मीको हारको प्रतीक्षा गर्नुपर्नेछ।
ललितको ऐतिहासिक कीर्तिमान
ललितनारायण राजबंशी प्रधानमन्त्री कपको इतिहासमै १०० विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले २०१७ मा प्रतियोगिता सुरु भएयता मात्र ४० इनिङमा यो उपलब्धि हासिल गरेका हुन्। अहिलेसम्म उनले १०३ विकेट लिइसकेका छन्, भने त्रिभुवन आर्मीका शाहब आलम ९९ विकेटसहित दोस्रो स्थानमा छन्।
ललित यस संस्करणका पनि अग्रणी बलर हुन्। उनले ८ खेलमा ३६ विकेट लिएका छन्, भने शाहब आलम २४ विकेटसहित दोस्रो स्थानमा छन्। पुलिसका सागर ढकालले २ विकेट लिए भने करण केसीले १ विकेट जोडे।
पुलिसको संघर्षपूर्ण ब्याटिङ
पुलिसका लागि ओपनर अर्जुन साउदले ६० बलमा ३६ रन बनाए, जसमा चार चौका र एक छक्का सामेल थियो। दिलीपनाथले ३४ रन बनाए भने सागर ढकाल २२ रनमा अविजित रहे। कर्णालीका अनुज चनाराले ४ विकेट लिए, जबकि दीवान पुनले ३ विकेट लिएर पुलिसका ब्याटरहरूलाई कठिन परिस्थितिमा पारे।
कर्णालीका लागि ओपनर रविन्द्र शाहीले ३२ बलमा ४९ रन बनाए भने अर्जु घर्तीले ४० बलमा ३० रनको योगदान दिए।
अन्य खेलमा मधेसको जित
अर्को खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हरायो। मधेसले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम २९ ओभरमै ५८ रनमा समेटियो।
मधेसका विशाल पटेलले ६ विकेट लिएर सुदूरपश्चिमको ब्याटिङ ध्वस्त गरे। प्रदीप पासवानले पनि ३ विकेट लिए। मधेसका लागि प्रदीप पासवान २३ रनमा अविजित रहे भने पवन सर्राफले १९ रन बनाए।
सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा मात्र ५ रन दिएर ४ विकेट लिँदै कीर्तिमानी बलिङ गरे। तर, उनको उत्कृष्ट प्रदर्शन पनि टिमलाई जित दिलाउन सकेन।
सुदूरपश्चिम तीन जित र छ हारसहित आठौं स्थानमा रह्यो। मधेस प्रदेश ६ अंकसहित आफ्नो अन्तिम खेल बागमती प्रदेशसँग खेल्ने तयारीमा छ।

