काठमाडौँ, चैत्र १३, २०८१
ईप्रेस संवाददाता
सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे तय गरिएको छ ।
प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभा बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफल गरियोस् भनी प्रस्ताव राख्नेछन् । साथै, उनले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन् ।
राष्ट्रियसभा बैठक
राष्ट्रियसभा बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।
आजको बैठकमा विधेयक छलफल, प्रतिवेदन पेस र मन्त्रीहरूको जवाफले संसदीय गतिविधिलाई महत्त्वपूर्ण बनाएको छ ।

