काठमाडौँ, चैत्र १३, २०८१
ईप्रेस संवाददाता
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङले चलचित्र ‘एञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन् । मङ्गलवार ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्र हेरेपछि उनले यो कुरा व्यक्त गरेका हुन् । चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेहरूलाई प्रेरणा दिने र लक्ष्य प्राप्तिका लागि मेहनत गर्न उत्प्रेरित गर्ने उनको भनाइ छ ।
उनले यो चलचित्र हरेक खेलाडीले हेर्नुपर्ने र यसले सबै खेलाडीको प्रतिनिधित्व गर्ने उल्लेख गरे । खेलाडीको विषयमा चलचित्र बन्नु प्रशंसनीय रहेको भन्दै उनले निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिए ।
निर्माता श्रेष्ठ, जो कप्तान सुब्बाका धर्मपिता पनि हुन्, ले ‘एञ्जिला’ को सफलताले आगामी दिनमा खेलाडीको कथामा चलचित्र बनाउन अन्य निर्मातालाई प्रोत्साहन गरेको बताए । नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रले व्यावसायिक सफलता पाउन नसके पनि ‘एञ्जिला’ ले यो ट्रेन्ड तोडेर नयाँ सम्भावना देखाएको उनको भनाइ छ ।
निर्देशक चाम्सले धेरै खेलाडीको कथा चलचित्रमा प्रस्तुत गर्न योग्य रहेको र अब खेल वा खेलाडीका विषयमा थप चलचित्र बन्ने सम्भावना बढेको बताए । विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पूर्वकप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटबल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर विन्द्रा देवानलगायत उपस्थित थिए ।
यो चलचित्र नेपालमा गत फागुन २९ देखि प्रदर्शनमा आएको हो ।

