सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरण: दुई जना पुर्पक्षका लागि थुनामा

अपराध अपराध प्रदेश-पालिका

पोखरा (इप्रेस मिडिया)
सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन पोखरामा कार्यरत निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीकै दुई जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। आत्महत्या दुरुत्साहनको आरोपमा निरीक्षक विवेक जोशी र हबल्दार रेशमबहादुर शाहीलाई कास्की जिल्ला अदालतले सोमबार (चैत्र ११, २०८१) थुनामा पठाउने आदेश दिएको हो। न्यायाधीश भोलानाथ ढकालको इजलासले यो फैसला सुनाएको छ।

महत गत फागुन १० गते राति तालिम शिक्षालय परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले फागुन ११ गते कास्की जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेको थियो। जाहेरीपछि जोशी पक्राउ परेका थिए भने अनुसन्धानकै क्रममा चैत ६ गते शाहीलाई पनि नियन्त्रणमा लिइएको थियो। परिवारका अनुसार महत र जोशीबीच प्रेम सम्बन्ध थियो।

प्रहरीले अनुसन्धान पूरा गरी चैत ८ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा १८५ अनुसार मागदाबी गर्दै चैत ९ गते अभियोगपत्र दर्ता गराएको थियो। सोही आधारमा अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठायो। यो दफाअनुसार आत्महत्या दुरुत्साहनमा संलग्नलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यो घटनाको छानबिन गर्न डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा विशेष समिति गठन गरेको छ। महतले २०७२ मा सिपाहीबाट सशस्त्र प्रहरी सेवा शुरू गरेकी थिइन्। २०७८ मा असईमा पदोन्नति भएकी उनी २०८१ मा निरीक्षकमा उत्तीर्ण भई पोखरामा तालिम लिइरहेकी थिइन्। यो प्रकरणले सशस्त्र प्रहरीभित्र ठूलो तरंग ल्याएको छ।

इप्रेस मिडिया संवाददाता
पोखरा, चैत्र १२, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *