मस्को (इप्रेस मिडिया)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो हातले बनाएको तस्बिर उपहार दिएका छन्। यो उपहार चैत्रको सुरुमा मस्कोमा ट्रम्पका विशेष दूत स्टिभ विटकफमार्फत हस्तान्तरण गरिएको थियो। सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूको जिज्ञासामा यो कुरा पुष्टि गरे, यद्यपि थप टिप्पणी गर्नबाट भने बचे।
गत हप्ता फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनसँगको अन्तरवार्तामा विटकफले पहिलोपटक यो उपहारको खुलासा गरेका थिए। उनले पुटिनबाट प्राप्त तस्बिर ट्रम्पलाई दिँदा उनी प्रभावित भएको र तस्बिरलाई ‘अद्भुत’ भनेको उल्लेख गरे। विटकफले पुटिनको यो कदमलाई ‘उदार’ भन्दै प्रशंसा गरे। साथै, गत वर्ष पेन्सिलभेनियाको चुनावी र्यालीमा ट्रम्पमाथि भएको गोली प्रहारको घटनापछि पुटिनले आफूलाई ट्रम्पको स्वास्थ्यका लागि प्रार्थना गरेको बताएको पनि उनले स्मरण गरे।
युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिकाले रुस र युक्रेनी पक्षसँग साउदी अरबमा बेग्लाबेग्लै छलफल गरिरहेको सन्दर्भमा यो घटना बाहिर आएको हो। पुटिनको यो उपहारले कूटनीतिक सम्बन्ध र दुई नेताबीचको व्यक्तिगत संवादलाई नयाँ चर्चाको विषय बनाएको छ।
इप्रेस मिडिया संवाददाता
मस्को, चैत्र १२, २०८१

