काठमाडौँ— उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन्। सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा बोल्दै मन्त्री खड्काले निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिने विषयमा मन्त्रालयले छलफल अघि बढाएको जानकारी दिए।
मन्त्री खड्काले जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयलाई १० प्रतिशतसम्म शेयर लगानी गर्न पाउने व्यवस्था रहेपनि पैसा नहुने वर्गले त्यसमा सहभागिता जनाउन नसकेको कारण सरकारले यस्तो वर्गलाई पनि शेयर उपलब्ध गराउन कानूनी प्रक्रिया अघि बढाएको बताए। उनले भने, “कुनै पनि आयोजनामा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था छ, तर गरिबीका कारण पैसा नहुनेले लगानी गर्न सक्दैनन्। यो समस्या समाधान गर्न मन्त्रालयले गम्भीर छलफल गरिरहेको छ।”
‘नेपालको पानी, जनताको लगानी’ अवधारणालाई निरन्तरता
मन्त्री खड्काले अघिल्ला सरकारले अघि सारेको ‘नेपालको पानी, जनताको लगानी’ अभियानलाई फाउन्डेसनको रूपमा लिई त्यसलाई थप विकास गर्दै देशलाई समृद्ध बनाउने योजनामा सरकार लागेको बताए। उनले मुलुकको विकासका लागि सकारात्मक पक्षहरूलाई समावेश गरेर अघि बढ्ने प्रतिवद्धता जनाए।
उनका अनुसार, सरकारले अबको १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना बनाएको छ। उनले भने, “यो योजना अन्तर्गत १३ हजार ५ सय मेगावाट विद्युत् नेपालमा नै खपत गरिनेछ भने १५ हजार मेगावाट विद्युत् विदेशमा निर्यात गरिनेछ।”
समृद्धिको लागि जलविद्युत्: स्थानीय सहभागितामा जोड
मन्त्री खड्काले तल्लो वर्ग समृद्ध नभइ मुलुकको समृद्धि सम्भव नहुने धारणा राख्दै, गरिब र विपन्न वर्गलाई जलविद्युत् आयोजनामा सहभागिता गराउने विषयमा सरकार गम्भीर भएको बताए। उनले जलविद्युत् आयोजनाबाट उत्पन्न हुने फाइदा तल्लो वर्गसम्म पुर्याउनका लागि सरकारले दीर्घकालीन नीति बनाउने बताउँदै, स्थानीय स्तरमा पनि जलविद्युत् आयोजनामा सहभागिता बढाउन सकिने गरी कानूनी प्रक्रिया अघि बढाएको उल्लेख गरे।
जलविद्युत् आयोजनामा सबै वर्गको समान सहभागिता सुनिश्चित गर्दै मुलुकको समृद्धि हासिल गर्ने सरकारको दृष्टिकोण रहेको र यसका लागि ठोस योजनाहरू अघि बढाइरहेको मन्त्री खड्काले स्पष्ट पारे।
ePress Media
२२ असोज, २०८१

