काठमाडौं, साउन १४ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै देश र जनताको आवश्यकतामा युवाहरूलाई जोसिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले भने, “जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपालीहरू जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा युवाहरूलाई कहिलेकाहीं जोसिनुपर्छ। युवाहरूले चम्किनुपर्छ।” उनले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाहरूले क्रान्तिमा होमिएका युवाहरूको प्रेरणा भएको उल्लेख गरे।
“सिद्धिचरण श्रेष्ठ मेरो गुरु हुन्, र म उनले लेखेका गीतहरूबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित छु। उनका गीतहरूले धेरै युवाहरूलाई क्रान्तिमा होमिन र सहिद हुन तयार पारे,” उनले थपे।
उक्त समारोहमा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद एक लाख रुपैयाँसहित प्रदान गरिएको छ। साथै, युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका ओखलढुङ्गा संवाददाता नवराज कार्कीलाई नगद ४० हजार रुपैयाँसहित दिइएको छ।
कार्यक्रममा “युगकवि सिद्धिचरणका गद्य कविता” र “विज्ञका दृष्टिमा युगकवि” नामक दुईवटा कृतिहरू विमोचन गरिएको छ। युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती हरेक वर्ष जेठ ९ गते मनाइँदै आएको थियो, तर यस वर्ष उनकी सुपुत्रीको निधनका कारण समारोह स्थगित गरेर आज सम्पन्न गरिएको हो।
समारोहको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गरेका थिए। यस अवसरमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सिद्धिचरण श्रेष्ठलाई तत्कालीन राणा शासनले क्रान्ति शब्द प्रयोग गरेको आरोपमा १८ वर्षको कारावासको सजाय सुनाएको थियो। उनले पाँच वर्ष जेल सजाय पूरा गरेपछि वि.सं. २००२ मा जेलमुक्त भएका थिए। हालसम्म ३९ कृति प्रकाशित भइसकेका सिद्धिचरण श्रेष्ठका सातवटा कृति प्रकाशनको तयारीमा छन्।

