म्यानचेस्टर युनाइटेडद्वारा फ्रान्सेली मिडफिल्डर राबियोटलाई अनुबन्ध गर्ने तयारी तीव्र

खेलकुद

ओल्ड ट्राफोर्ड । प्रिमियर लिगको चर्चित क्लब म्यानचेस्टर युनाइटेडले फ्रान्सेली मिडफिल्डर एड्रियन राबियोटलाई अनुबन्ध गर्ने प्रयासलाई तीव्रता दिएको छ । युभेन्टससँगको सम्झौता सकिएपछि फ्री–एजेन्टको रूपमा उपलब्ध राबियोटलाई क्लबमा भित्र्याउन युनाइटेडका प्रबन्धक एरिक टेन हाग र सह–मालिक जिम र्‍याटक्लिफले निकै चासो देखाएका छन् । युनाइटेडको कमजोर मिडफिल्डलाई सुदृढ पार्ने उद्देश्यले राबियोटलाई टोलीमा समावेश गर्ने योजना बनाइएको बुझिएको छ ।

यद्यपि, राबियोटलाई आफ्नो पोल्टामा पार्न युनाइटेडले लिभरपुलसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । फ्रेन्च फुटबल पत्रकार रोमाइन कोलेट गाउडिनका अनुसार राबियोट युनाइटेडसँग अनुबन्धनको अन्तिम चरणमा पुगेका छन् । दुवै क्लबहरूले राबियोटका प्रतिनिधिहरूसँग छलफल गरिरहेको भए पनि युनाइटेडले उनलाई आकर्षित गर्न बढी सम्भावना रहेको बताइएको छ । तर, कतिपय सञ्चारमाध्यमले लिभरपुलले राबियोटमा खासै चासो नदेखाएको दाबी पनि गरेका छन् । यसअघि, इटालियन क्लब एसी मिलान र स्पेनिस क्लब रियल मड्रिडले पनि राबियोटप्रति रुचि व्यक्त गरेका थिए ।

२९ वर्षीय राबियोटले युभेन्टसमा बिताएको पाँच वर्षमा क्लबका लागि २१२ खेल खेल्दै एक सिरी ए उपाधि, दुई इटालियन कप र एक इटालियन सुपर कप जित्न महत्त्वपूर्ण योगदान गरेका थिए । उनको अनुभव र युवा जोशले भरिएको खेल शैलीले युनाइटेडको मिडफिल्डलाई नयाँ आयाम दिन सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *