काठमाडौं: नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुहरूको खोजीका लागि सरकारले अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउने भएको छ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि बस र यात्रुहरूको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट विज्ञ टोली मगाउन परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको छ।
हालसम्म १४ जनाको शव फेला परे पनि ४८ जना यात्रु र दुई बस अझै बेपत्ता छन्। नेपालमा उपलब्ध सबै प्रविधि र ५०० सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखिएको छ।
यसैबीच, नवनियुक्त गृहमन्त्री रमेश लेखकले घटनाको अध्ययन गर्न १० दिनको समयसीमा तोकेर एक कार्यदल गठन गरेका छन्। यसबाट घटनाको कारण र भविष्यमा यस्ता दुर्घटना रोक्न गर्नुपर्ने कामहरूबारे विस्तृत जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
दुर्घटना असार २८ गते शुक्रबार बिहान चितवनको सिमलतालमा भएको थियो। वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस दुर्घटनामा परेका थिए। बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए।

