बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने, वर्षायामबाटै निर्यात सुरु हुने

अर्थतन्त्र विचार-वार्ता हेडलाइन

बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) ले नेपाल विद्युत प्राधिकरणको ४० मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यससँगै नेपालले वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात सुरु गर्ने भएको छ।

बीपीडीबीले प्राधिकरणलाई पत्राचार गर्दै बोलपत्र स्वीकार गर्ने आशय व्यक्त गरेको हो। प्राधिकरणले अब ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित जानकारी बीपीडीबीलाई दिनुपर्नेछ। त्यसपछि बीपीडीबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउनेछ र २८ दिनभित्र सम्झौता गरिनेछ।

प्राधिकरणले त्रिशूली र चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै आयोजनाबाट उत्पादित विद्युत् भारतमा निर्यात गर्न पहिल्यै स्वीकृति प्राप्त भइसकेको छ।

प्रतियुनिट ६.४० अमेरिकी सेन्ट, ५ वर्षसम्म खरिद

प्राधिकरणले वर्षायामको ६ महिना (१५ जुन देखि १५ नोभेम्बर) सम्म ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ। यसबाट प्रति युनिट ६.४० अमेरिकी सेन्ट आम्दानी हुनेछ। विद्युतको मिटर भारतको मुजफ्फरपुरमा रहनेछ र त्यहाँसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ। मुजफ्फरपुरबाट बंगलादेशसम्मको प्रसारण शुल्क, चुहावट लगायतका सम्पूर्ण खर्च भने बंगलादेशले नै बेहोर्नेछ।

क्षेत्रीय विद्युत व्यापारको ढोका खुल्ने अपेक्षा

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सम्झौताले आगामी दिनमा क्षेत्रीय स्तरमा ठूलो परिमाणमा विद्युत् व्यापारको ढोका खोल्ने बताए। उनले यसबाट नेपालको विद्युत व्यापारका लागि थप अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *