राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बस्दैछ। बैठकको मुख्य एजेन्डा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही गर्ने विषय रहेको बताइएको छ।
पार्टीको अनुशासन आयोगले डा. ढकालले पार्टीको समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएको आरोपमा अनुशासनात्मक कारबाहीको सिफारिससहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। ढकाललाई यसअघि नै सात दिने स्पष्टीकरण सोधिएको थियो र उनले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन्।
आजको बैठकमा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने र ढकालमाथि कारबाही हुने सम्भावना रहेको छ। यो निर्णयले रास्वपाको आन्तरिक राजनीतिमा उथलपुथल ल्याउन सक्ने देखिन्छ।

