प्रधानमन्त्री प्रचण्डको निर्देशन: विदेशमा रहेका नेपालीको हित र अधिकारलाई केन्द्रमा राखेर परराष्ट्र मन्त्रालयको क्षमता अभिवृद्धि गरौं

राजनीति हेडलाइन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्न निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा आयोजित परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताए। उनले यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको उल्लेख गरे।

प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयको पुरानो दरबन्दीलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले सचिवस्तरमा प्राविधिक तयारी गरी छिट्टै निष्कर्षमा पुग्न निर्देशन दिए।

बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल कुटनीतिमा अभिव्यक्त भएको बताउँदै परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सवलीकरण गर्नुपर्ने बताए।

छलफलमा अर्थमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, निमित्त मुख्यसचिव, परराष्ट्र सचिव, अर्थसचिव लगायत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *