कांग्रेस कार्यसम्पादन समिति बैठक: एमालेसँगको सहमति कार्यान्वयनमा प्रतिबद्ध, प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान

राजनीति हेडलाइन

काठमाण्डौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयलाई अनुमोदन गर्दै यसलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सहभागी शीर्ष नेताहरूले मुलुकको समग्र हितलाई ध्यानमा राख्दै दुई ठूला दलबीचको यो सहकार्यले राजनीतिक स्थिरता, सुशासन र विकासको नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।

बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमतिलाई पुनः दोहोर्याइएको छ। नेताहरूले यो सहमतिले देशको आर्थिक समृद्धि र सामाजिक न्यायको एजेण्डालाई प्रभावकारी रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

यसै क्रममा, समितिले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय सहमतिको भावनालाई सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ। साथै, पार्टीका भ्रातृ संस्थाहरूको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्दै २०८१ चैत्र मसान्तभित्र तिनका महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिहरू गठन गर्ने निर्णयलाई समेत अनुमोदन गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बैठकका निर्णयहरू सार्वजनिक गर्दै यो सहमतिले देशलाई राजनीतिक अस्थिरताबाट मुक्ति दिलाउने र जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए। उनले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय हितलाई सर्वोपरि राखेर सहमतिको यो प्रक्रियामा सहभागी हुन आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *