काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ। बैठकको प्रमुख एजेन्डा नेकपा एमालेसँगको सत्ता साझेदारीलाई अनुमोदन गर्ने विषय रहेको छ।
सोमबार मध्यरातमा कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको थियो। यद्यपि, समझदारीलाई अन्तिम रूप दिन बाँकी छ। आजको बैठकमा यस विषयमा विस्तृत छलफल हुने र समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ।
प्रारम्भिक समझदारी अनुसार केपी शर्मा ओली सुरुका दुई वर्ष प्रधानमन्त्री बन्ने र बाँकी अवधि शेरबहादुर देउवाले नेतृत्व गर्नेछन्। प्रदेश सरकारहरूमा पनि दुई दलले ३-३ वटा सरकार बाँड्ने सहमति भएको छ भने मधेस प्रदेशमा मधेसकेन्द्रित दलकै नेतृत्व हुनेछ।
यसका साथै, दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने सहमति पनि भएको छ। यो सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ।

