केन्द्राध्यक्षको लापरबाहीले परीक्षार्थी मर्कामा, कृषिका विद्यार्थीलाई पशुको प्रश्न पत्र

शिक्षा

सिरहा– प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा सहभागी परीक्षार्थी मर्कामा परेका छन्। सिरहाको गोलबजारस्थित राम प्रताप रासप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्न पत्रमा परीक्षा दिन लगाएपछि परीक्षार्थी विलगखबन्दमा परेका हुन्।

परीक्षार्थीहरूले परीक्षा सकेपछि मात्र आफूहरूसँग भएको प्रश्न पत्र राम्रोसँग हेर्दा कृषि विज्ञानको प्रश्न पत्र परेको थाहा पाएको बताए। उनीहरूले भने, ‘छोटो समय भएकाले हामी प्रश्न पत्र पाउना साथ लेख्ने ध्याउन्नमा लाग्यौँ। बिच बिचमा असहज भइरहेको थियो। परीक्षा सकेर प्रश्न पत्र नियाल्दा हामी पशुका विद्यार्थीका हातमा कृषिका प्रश्न पत्र रहेछ। त्यसपछि हाम्रो होस हवास नै उड्यो।’

केन्द्रमा खटिएका शिक्षकहरूलाई देखाउँदा उनीहरूले पहिला किन नदेखाएको भन्दै हप्की दप्की गरे। पछि हाम्रो मान्छे माथि परीक्षा केन्द्रमा छ। सबै मिलिहाल्छ। तिमीहरूले चिन्ता लिनुपर्दैन, भन्दै घर जान भनेको परीक्षार्थीहरूले बताए।

केन्द्राध्यक्ष र परीक्षामा खटिएका सीटीइभीटीका प्रतिनिधिले आश्वासन दिएपछि परीक्षार्थी भने ढुक्क हुन सकेको छैन। उनीहरू एक वर्ष खेर जाने हो की भन्ने चिन्तामा छन्।

सरस्वती माध्यमिक विद्यालय गोल बजार ९३ का प्राविधिक तर्फका संयोजक समेत रहेका डा। ओम प्रकाश साहले परीक्षा सञ्चालकको लापरबाहीले आफ्नो विद्यार्थीको भविष्यमाथि खेलबाड भएको बताए। उनले भने, ‘विषय नै फरक भएकाले कसरी कपी काटिन्छ रु थाहा छैन। तर, यो उहाँहरूको ठुलो गल्ती हो।’

परीक्षामा डिप्लोमा इन एनिमल साइन्सका विद्यार्थीलाई एग्रिकल्चर विषयको प्रश्न पत्र पर्न गएको परीक्षा केन्द्राध्यक्ष किशोर कुमार साहले बताए। उनले भुल बस पर्न गएको भए पनि त्यस विषयमा माथि छलफल भइरहेको बताए।

उनले भने, ‘खासमा हाम्रो जिम्मेवारी भनेको मर्यादित परीक्षा लिने र ठाउँ उपलब्ध गराउने हो। प्रश्न पत्र, उत्तर पुस्तिका ल्याउने लाने सबै सीटीइभीटीका प्रतिनिधीहरुले गरिरहनु भएको छ। एउटै जस्तो लाग्ने विषय भएकाले भुलवश प्रश्न पत्र तलमाथि परेको रहेछ। हामीले माथि कुरा गरिरहेका छौँ। विद्यार्थीलाई मर्का पर्दैन।’

कृषि तर्फमा परीक्षार्थीको प्रश्न पत्र कम भएपछि उनीहरूलाई फोटो कपी गरेर दिएको थियो। फोटो कपी गर्दा लागेको समय थप गरेर परीक्षा लिएको जनाएको छ।

यता सीटीइभीटीका प्रतिनिधिका रूपमा आएका बाह्य सुपरिवेक्षक भोला राय यादव र सुजित रायले भने माथि कुरा भइसकेको छ। हामी मुचुल्का उठाएर पठाउँदै छौँ। सबै थोक उतैबाट हुने भन्दै थप प्रतिक्रिया दिन चाहेनन्।

हामीले एउटाको प्रश्न पत्र अर्कै विद्यार्थीकोमा कसरी गयो रु भन्ने प्रश्नमा सीटीइभीटीका प्रतिनिधि दुवै जनाले हामीले माथि मिलाई सकेका छौँ, अव केही गर्नु पर्दैन भन्दै थप प्रतिक्रिया दिन चाहेनन्। उनीहरूले हामी यहाँबाट मुचुल्का उठाएर पठाउँदै छौँ, सबै ठिक भई हाल्छ भन्ने प्रतिक्रिया दिए।

जिल्लाको जनता माध्यमिक विद्यालय, धनगढी माई ५ तीनकोनी, जय गोविन्द साह टेक्निकल इन्स्टिच्युट गोल बजार, सरस्वती माध्यमिक विद्यालय गोल बजार ३ सहित ४ वटा विद्यालयको यस परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *