रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज, यस्ता छन् एजेण्डा

राजनीति हेडलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न रास्वपाले संयुक्त बैठक बोलाएको हो ।

रास्वपाले केन्द्रीय कार्यालय बालाजुमा आज अपराह्न ४ बजे बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेकामा गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको भन्दै चौतर्फी आलोचना भएपछि रास्वपाले आफ्नो आधिकारिक धारणा बनाउन बैठकमा छलदफल हुने डा. ढकालले बताए ।

कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । त्यस्तै संविधान दिवसको अवसर पारेर रास्वपाले दस्ताबेज लेखनका लागि जनताको सुझाव लिन सभापति रवि लामिछानेसहित १९ जना नेताहरू जिल्लामा खटाएकोमा त्यसको रिपोर्टसमेत बैठकमा पेस हुने बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *