१४ शिक्षक संघ-संगठनद्वारा चैत्र २० बाट काठमाडौंमा ‘वारपार’ को आन्दोलन घोषणा

शिक्षा हेडलाइन

काठमाडौं, चैत्र १५, २०८१
ईप्रेस मिडिया

काठमाडौं– नेपालका १४ वटा शिक्षक संघ-संगठनले यही चैत्र २० गतेबाट काठमाडौं केन्द्रित ‘वारपार’ को आन्दोलन गर्ने चेतावनी दिएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विगतका सहमति सम्बोधन हुने गरी गुणस्तरीय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले यो आन्दोलन घोषणा गरेका हुन्।

संघ-संगठनका अध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु आवश्यक भएको छ। यसका लागि २०८१ चैत्र २० गतेबाट वारपारको लडाइँको रूपमा काठमाडौं केन्द्रित सडक आन्दोलन गरिँदैछ। देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई अनिवार्य रूपमा काठमाडौं आउन र ऐन जारी नभएसम्म आन्दोलनको मोर्चामा डटिरहन जोडदार अपील गर्दछौं।”

आन्दोलनको रणनीति

आन्दोलन अवधिमा शिक्षक-कर्मचारीहरूलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा तिनका निकायले आयोजना गर्ने तालिम, गोष्ठी, सेमिनार, सार्वजनिक कार्यक्रम र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण जस्ता कार्यमा संलग्न नहुन पनि आग्रह गरिएको छ। यो कदमले सरकारमाथि थप दबाब सिर्जना गर्ने उनीहरूको योजना छ।

शिक्षकहरूले लामो समयदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै आएका छन्। नेपालको संविधानले शिक्षाको विकेन्द्रीकरणको परिकल्पना गरे पनि ऐनको अभावमा यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै शिक्षक संघ-संगठनहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। यसपटकको आन्दोलनलाई उनीहरूले निर्णायक बनाउने दाबी गरेका छन्।

चैत्र २० बाट सुरु हुने यो आन्दोलनले काठमाडौंको दैनिकी र शैक्षिक गतिविधिमा ठूलो प्रभाव पार्ने देखिएको छ। सरकारले यो मागलाई कसरी सम्बोधन गर्छ, त्यो आगामी दिनमा प्रष्ट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *