काठमाडौं । इजरायल र हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ । मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन् । प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ ।
यस्तै, हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १३ सय पुगेको छ । जसमा विदेशीको संख्या १ सय छ । इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ। इजरायलबाट हानिएको मिसाइल आक्रमणमा परी दक्षिणी लेबनानमा भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ ।
उनी इजरायल(लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् । रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ ।

