स्वास्थ्यकर्मी पलायनमा राज्यको नीति दोषी : मन्त्री पौडेल

स्वास्थ्य हेडलाइन

काठमाडौं, ११ चैत
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मी विदेश पलायनको अवस्था आउनुमा राज्यको नीति पनि जिम्मेवार रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को पाँचौं दीक्षान्त समारोहमा बोल्दै प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यो चुनौती समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याए।

“नेपालमा स्वास्थ्यकर्मी उत्पादन चुनौतीपूर्ण बन्दै गएको छ। प्रत्येक वर्ष १५ सय स्वास्थ्यकर्मी बाहिर गइरहेका छन्, जसमा राज्यको नीति पनि दोषी छ,” उनले भने, “यसको सुधारका लागि सहकार्य जरुरी छ, नीतिगत परिवर्तनमा हामी लाग्नुपर्छ।”

मन्त्री पौडेलले नेपालको स्वास्थ्य जनशक्ति उत्पादनमा न्याम्सको योगदानप्रति गर्व व्यक्त गर्दै यसले चिकित्सा शिक्षालाई विश्वसनीय बनाएको बताए। “पछिल्लो समय नेपालमा उत्पादित स्वास्थ्य जनशक्ति विश्वसनीय र मर्यादित बन्दै गएको छ,” उनले थपे, “चिकित्सा शिक्षा पढाउन विदेशी विद्यार्थीलाई आकर्षित गर्ने नीति बनाउनुपर्छ।”

उनका अनुसार, जनशक्ति वृद्धिसँगै स्वास्थ्यकर्मीको संख्या बढिरहेको छ। “विशिष्टकृत जनशक्तिले देश विकासमा ठूलो योगदान गर्न सक्छ र जनताको दुखमा मलम लगाउन सक्छ,” मन्त्री पौडेलले भने। उनले स्वास्थ्यकर्मीलाई बिरामीप्रति मर्यादित र नम्र व्यवहार गर्न पनि आग्रह गरे, किनकि स्वास्थ्य सेवाको गुणस्तर उनीहरूको व्यवहारसँग जोडिएको उनको भनाइ छ।

न्याम्सको उपलब्धि

यस वर्ष न्याम्सले थप १२२ सिट पाएसँगै प्रत्येक वर्ष २०० भन्दा बढी एमडी/एमएस जनशक्ति उत्पादन गरिरहेको छ। यो संख्याले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थप्ने प्रयासलाई बलियो बनाएको छ।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीको विदेश पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको संकेत गरे। नीतिगत सुधार र सहकार्यबाट यो समस्याको समाधान खोजिने उनको प्रतिबद्धता छ।

ई-प्रेस मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *