काठमाडौँ, १३ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको हालैको विमान दुर्घटनामा छानबिन समितिमा नियुक्त गरिएको व्यक्तिको निष्पक्षता माथि गम्भीर प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले छानबिन समितिको सदस्यमा पहिलो व्यक्तिकै भिनाजु पर्ने व्यक्ति नियुक्त गरिएकोप्रति आपत्ति जनाएका हुन्।
लिङ्देनले भने, “छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ। सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ। यसरी एउटै व्यक्तिलाई किन पटक–पटक छानबिनको जिम्मेवारी दिइन्छ?”
उनले यो विषयमा स्पष्ट जवाफ माग्दै भने, “सौर्य एयरलाइन्सको दुर्घटनामा केही गम्भीर प्रश्नहरू उठेका छन्। विमानलाई सी–चेकका लागि पोखरा नै लानु पर्ने, काठमाडौँमा नहुने, के कारण थियो? काठमाडौँमा त्यो हुन सक्ने हो कि होइन?”
लिङ्देनले नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स र नेपाल आर्मीको ह्याङ्गरमा सी-चेकको सुविधा दिन सकिने वा नसकिने र त्यसका लागि प्रयत्न भएको भए नभएको बारेमा नियामक निकाय र मन्त्रालयको ध्यान जान जरुरी रहेको बताए।
उनले थप प्रश्न गरे, “त्यति ठुलो सङ्ख्यामा कर्मचारीहरू जानुपर्ने, त्यसमाथि पनि गैरप्राविधिकहरु जानुपर्ने आवश्यकता थियो कि थिएन? उडान अनुमति दिनुभन्दा अघि को–को जाँदैछन् र कति जना जाँदैछन् भन्ने हेर्ने कुनै निकाय थियो कि थिएन? असम्बन्धित मानिसहरू कसरी गए?”
लिङ्देनले सौर्य एयरलाइन्स दुर्घटनाको घटनाक्रमलाई हेर्दा नियामक निकायको लापरबाही देखिएको आरोप लगाए। उनले पोखरा विमानस्थलमा जडान हुनुपर्ने सबै प्रविधि जडान नभई पोखरा विमानस्थललाई उडानका लागि योग्य भनिएकोमा पनि प्रश्न उठाए।
उनले भने, “विश्वमा हवाई उडान यात्राका लागि सबैभन्दा सुरक्षित माध्यम मानिए पनि नेपालमा असुरक्षित र सबैभन्दा भयावह रहेको छ।”
लिङ्देनले हवाई सुरक्षामा सुधारको माग गर्दै सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनमा निष्पक्षता र पारदर्शिता आवश्यक भएको बताए। यसले मात्र भविष्यमा यस्ता दुर्घटनाहरूबाट जोगिन मद्दत पुग्ने उनको धारणा थियो।
लिङ्देनले अन्त्यमा थपे, “सरकार र सम्बन्धित निकायहरूले छानबिन समितिमा निष्पक्ष व्यक्तिहरूलाई नियुक्त गरेर यस मामिलाको यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनु पर्दछ। यसले मात्र जनतामा सरकारप्रतिको विश्वास बढ्न सक्छ।”

