सेयर बजारमा लगानीकर्ताको लागि कर्जा सीमा निर्धारण: नेपाल राष्ट्र बैंकको निर्देशन

अर्थतन्त्र हेडलाइन

काठमाडौँ, असोज ५ गते – नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाबाट सेयर बजारमा कर्जा लिनेहरूको लागि कर्जा सीमा निर्धारण गरेको छ। पछिल्लो समयमा सेयर बजारमा लगानी गर्नेहरूको सङ्ख्या बढ्दै जाँदा, सेयर कर्जा लिने व्यक्तिहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकले यसप्रकारको कर्जामा स्पष्ट सीमा तोक्दै सेयर बजारको सन्तुलन कायम राख्न यो कदम चालेको हो।

राष्ट्र बैंकका अनुसार, सेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताबाहेक अन्य लगानीकर्ताहरूको हकमा एकल ग्राहक कर्जा सीमा अधिकतम १५ करोड रुपैयाँ कायम गरिएको छ। यो सीमा कुनै एक वा सबै इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिने क्रममा लागू हुनेछ।

सेयर धितोमा मार्जिन कर्जा सीमा

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाहरूको सेयरलाई धितो राखेर मार्जिन कर्जाका लागि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ। राष्ट्र बैंकका अनुसार, नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत वा सेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ, सो मूल्यको ७० प्रतिशतसम्म कर्जा लिन सकिनेछ।

यस प्रावधानले सेयरको बजार मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै कर्जा सुरक्षणको व्यवस्था सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ। सेयरको बजार मूल्यमा कमी आएमा ऋणीलाई थप धितो राख्न सूचित गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

राष्ट्र बैंकको यो निर्देशनले सेयर बजारमा अत्यधिक कर्जाको प्रयोगबाट हुने सम्भावित जोखिमलाई न्यून गर्न र आर्थिक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

ईप्रेस मिडिया
आश्विन ५, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *