काठमाडौं, १२ पुष – नेपाल राष्ट्र बैंकले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ ।
सेयर बजारमा उछाल आउन थालेको छ भने बजारमा दैनिक औसत पाँच अर्ब रुपियाँभन्दा माथिको कारोबार हुन थालेको छ । यस साताको दुई दिनको कारोबारमा नेप्सेमा गिरावट देखिए तापनि कारोबार उच्च हुनुले सेयरको भविष्य राम्रो भन्ने अर्थमा ठुलो लगानी यस क्षेत्रमा छिर्न थालेको देखिन्छ । देशको अर्थतन्त्र र आर्थिक क्षेत्रका सूचकहरू बजार प्रभावित हुने मुख्य आधार भए पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानीकर्ताको मनोबल नै हो ।
सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार पछिल्लो समय लगानीकर्ताको बजारप्रतिको विश्वास गुम्दा बजार निरन्तर ओरालो लागिरहेको थियो । सरकारले बजारमा केही सकारात्मक माहोल सिर्जना बनाउँदा बजार बुलिस ट्रेन्डमा देखिएको बताउनुहुन्छ ।
बजारले लामो समयदेखि खेपेको बियरिस अब बुलतर्फ जान थालेकामा नेपाल राष्ट्र बैङ्क पनि सेयर बजारप्रति थोरै लचिलो बन्दा, त्यसको प्रभाव बजारमा देखिएको उहाँको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लगानीयोग्य पैसा हुँदा तरलता सहज भयो जसले गर्दा बजारमा सकारात्मक माहोल सिर्जना भएको सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष फुलेल बताउनुहुन्छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले अर्थतन्त्र लयमा ल्याउन इँटा थप्ने काममा सहयोग पुग्न थालेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल पनि बढाउन थालेको छ । मौद्रिक नीतिले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुँदा समग्र अर्थतन्त्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको छ ।
अहिले खास गरी राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामा बैङ्क दर, नीतिगत दर, कर्जाको पुनर्संरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको छ । त्यसो त मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै छ । यो अवधिमा साढे १९ सयको बिन्दुमा रहेको सेयर बजारमापक नेप्से परिसूचक पनि २२ सयको बिन्दुतर्फ लम्केर अहिले परीक्षणमा रहेको छ । कारोबार रकम पनि लामो समयपछि सात अर्ब रुपियाँ नाघेको छ ।
मौद्रिक नीति समीक्षापछि बहार
राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजार र घरजग्गा क्षेत्रमा नीति खुकुलो बनाइएको छ । सेयर बजारमा ५० लाख रुपियाँभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । यस्तै घरजग्गामा पनि जोखिमभार १२५ प्रतिशत गरिएको छ । सेयर बजारमा ५० लाख रुपियाँभन्दा कमको कर्जामा यसअघि नै जोखिमभार १०० प्रतिशत कायम गरेको छ ।
यस्तै बैङ्किङ प्रणालीमा तरलता थुप्रिन थालेपछि राष्ट्र बैङ्कले मौद्रिक नीतिको उपकरणलाई चलाउँदा कर्जा प्रवाह बढ्न थालेको छ । राष्ट्र बैङ्कले ब्याजदर घटाउने र बजारमा अधिकतम पैसा परिचालन हुने गरी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत यसअघि लिएका नीतिलाई परिमार्जन गरेको छ । विशेष गरी बैङ्क दर र नीतिगत दर घटाइँदा ब्याजदर क्रमशः घट्दै गएको छ ।
ब्याजदर क्रमशः घट्ने तथा घरजग्गा र सेयर बजार क्षेत्र पनि चलायमान हुँदै गएकाले आगामी दिनमा अर्थतन्त्र चलायमान हुने देखिएको छ । निजी क्षेत्र र बजारले गरेको माग अनुसार राष्ट्र बैङ्कले मौद्रिक उपकरण अघि सारेका कारण मौद्रिक नीतिको सर्वत्र स्वागत गरिएको छ । विदेशी मुद्रा सञ्चिति बढेको, शोधनान्तर अवस्था सकारात्मक रहेको, तरलता थुप्रिएको अवस्थालाई मध्यनजर गरी मौद्रिक उपकरण खुकुलो बनाइएको देखिन्छ । नयाँ नीतिले बैङ्क तथा वित्तीय संस्थाले आगामी दिनमा ब्याजदर थप घटाउने अवस्था आउने देखिएको छ ।
सात अर्बमाथि कारोबार
पछिल्लो समय बजार पुँजीकरण पनि बढेको छ । गत कात्तिक २२ मा राष्ट्र बैङ्कले गरेको मौद्रिक नीतिको समीक्षापछि लगानीकर्ताको बजार पुँजीकरण चार खर्ब रुपियाँले बढेको हो ।
मौद्रिक नीति जारी हुनु एक दिनअघि कात्तिक २१ मा बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब २५ करोड रुपियाँ रहेको थियो तर मौद्रिक नीतिपछि सेयर बजार २६८.०३ तीन अङ्कले बढ्दा लगानीकर्ताको लगानी पनि बढेको हो । लगानी बढेसँगै बजार पुँजीकरण बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपियाँ पुगेको छ ।
साढे तेह्र अर्ब रुपियाँ राज्य कोषमा कर दाखिला
सरकारले मर्जर र एफपिओमा कर लगाउने निर्णय लागु गर्दा १३ अर्ब रुपियाँ राज्य कोषमा कर दाखिला भएको छ । मर्जर र एफपिओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो ।
सरकारले लिएको नीतिका कारण एफपिओको ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा साढे १३ अर्ब रुपियाँ राज्य कोषमा कर दाखिला भएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार सो रकम राज्य कोषमा दाखिला भएको छ ।

