कैलाली । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन् ।
आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरे ।
“हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुनेनै छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।”
जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गर्नुभयो ।

