सरकारद्वारा ईद–उल–फित्रको अवसरमा सार्वजनिक बिदा घोषणा

कला हेडलाइन

ई-प्रेस, काठमाडौँ
चैत्र १५, २०८१

नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रको अवसरमा आज चैत्र १५ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो बिदा घोषणा गरिएको जानकारी दिए।

ईद–उल–फित्र इस्लाम धर्मावलम्बीका लागि रमजान महिनाको समापनपछि मनाइने प्रमुख पर्व हो। रमजान, जसलाई मुस्लिम समुदायले पवित्र महिनाको रूपमा मान्छन्, एक महिनासम्म चल्ने रोजा (उपवास) को समाप्तिपछि यो उत्सव सुरु हुन्छ। हिजरी सम्वत् १४४७ को नवौं महिनाको रूपमा रहेको रमजानमा कुरान अवतरण भएको विश्वास गरिन्छ।

आज देशभरका मुस्लिम समुदाय ‘ईदगाह’ वा मस्जिदहरूमा भेला भई सामूहिक नमाज पढेर पर्व मनाउँदै छन्। यो अवसरमा नयाँ लुगा लगाउने, मिठाइ र स्वादिष्ट परिकारको आदान–प्रदान गर्ने, आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा छ। साथै, दान र गरिब–दुःखीको सेवालाई यो पर्वको विशेषता मानिन्छ।

रमजान महिनाभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म निराहार रही रोजा बस्छन्। रोजाको सुरुवात सूर्योदयभन्दा करिब दुई घण्टा अगाडि ‘सेहरी’ खाएर हुन्छ भने सूर्यास्तपछि ‘इफ्तार’ गरेर समापन गरिन्छ। यो अवधिमा पाँच इन्द्रियहरूमाथि नियन्त्रण राखी धार्मिक अनुशासन पालना गरिन्छ।

ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश बोकेको छ। सरकारको बिदा घोषणाले यो पर्वलाई सम्मान गर्दै सबै समुदायबीच धार्मिक सहिष्णुता कायम राख्ने सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *