ई-प्रेस, काठमाडौँ
चैत्र १८, २०८१
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदरावादले बलियो ब्याटिङ लाइनअपको बाबजुद लगातार दोस्रो हार बेहोरेको छ। लखनउ सुपर जायन्ट्ससँग पहिलो हार व्यहोरेको हैदरावादलाई दिल्ली क्यापिटल्सले आइतबार भएको खेलमा ८ विकेटले पराजित गर्दै आफ्नो दोस्रो जित दर्ता गरेको हो।
विशाखापट्टनममा भएको खेलमा मिचेल स्टार्सले आफ्नो टी–ट्वान्टी करियरको पहिलो पाँच विकेट हात पार्दै हैदरावादलाई १८.४ ओभरमा १६३ रनमा समेटेका थिए। जवाफमा दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
हैदरावादका लागि अनिकेत बर्माले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। हेनरिक क्लासेनले ३२ र ट्रेभिस हेडले २२ रन जोडे पनि टोलीको ब्याटिङ लाइन ध्वस्त भएको थियो। दिल्लीका स्टार्सको घातक बलिङले खेलको मोड बदलेको थियो।
लक्ष्य पछ्याउने क्रममा दिल्लीका ओपनर फाफ डु प्लेसिसले २७ बलमा ३ चौका र ३ छक्कासहित ५० रनको अर्धशतकीय पारी खेले। उनी जेसन अन्सारीको बलमा क्याच आउट भए। अर्का ओपनर जेके फ्रासर ३८ रन बनाउँदा अन्सारीकै बलमा कट एन्ड बोल्ड भए। केएल राउल १३ रनमा अन्सारीको तेस्रो शिकार बने। अविजित रहेका अविशेक पोरेलले ३४ र टृस्टन स्टब्सले २१ रन बनाउँदै दिल्लीको जित सुनिश्चित गरे।
राजस्थानको पहिलो जित
आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई ६ रनले हराउँदै आईपीएल २०२५ मा आफ्नो पहिलो जित हासिल गरेको छ। यो राजस्थानको तेस्रो खेलमा आएको पहिलो सफलता हो।
गुहावाटीमा भएको खेलमा चेन्नइले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनायो। नितिश राणाले ८१ रनको शानदार पारी खेले। जवाफमा चेन्नइले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो।
यी नतिजाहरूले आईपीएलको रोमाञ्चक प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ। हैदरावादले अब आफ्नो लय सम्हाल्ने चुनौती सामना गर्नुपर्नेछ भने दिल्लीले विजयी लय कायम राख्ने प्रयास गर्नेछ।

