काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८० लाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिको बैठकमा बोल्दै उनले यो विधेयक जटिल र बहुप्रतीक्षित भएको उल्लेख गरिन् ।
मन्त्री भट्टराईले यो विधेयकप्रति सबैको ठूलो आशा र अपेक्षा रहेको बताउँदै सबै पक्षको समन्वयमा यसलाई शीघ्र निष्कर्षमा पुर्याउन आवश्यक रहेको धारणा राखिन् । उनले उपसमितिले ३५ दिनको कार्ययोजना बनाएर काम थालेकोमा सन्तुष्टि व्यक्त गरिन् । “यो विधेयक पेचिलो छ र सबैले कहिले आउँछ भनेर कुरिरहेका छन् । हामीले ३५ दिनको योजना बनाएर काम सुरु गरेका छौँ,” उनले भनिन् ।
उनले सहज विषयहरूलाई छिट्टै टुङ्ग्याएर प्रगतिको सन्देश दिनुपर्ने र जटिल विषयमा संवाद आवश्यक भए मन्त्रालयले सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाइन् । “सहज दफाहरूमा छलफल भएको सन्देश दिन जरुरी छ । संवाद चाहिने विषयमा कहाँ-कहाँबाट सहयोग लिनुपर्छ, त्यसका लागि मन्त्रालयले आफ्नो भूमिका निर्वाह गर्नेछ,” उनले थपिन् ।
मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयबीचको सहकार्य र समन्वयबाट विधेयकलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरिन् । यो विधेयकले शिक्षा क्षेत्रमा लामो समयदेखिको सुधारको अपेक्षा पूरा गर्ने ठानिएको छ, र यसको छिटो कार्यान्वयनले शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा छ ।

