विश्वप्रकाश शर्माको कटाक्ष : स्ववियु निर्वाचनको परिणामले देखाउँछ गणतन्त्रको जनमत !

राजनीति हेडलाइन

काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रप्रति जनमतको बलियो समर्थन रहेको दाबी गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम हेर्न आग्रह गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको फेसबुक पोस्टलाई संकेत गर्दै राजावादीहरूको दाबीमाथि कटाक्ष गरेका छन् ।

शर्माले झापाको एउटा क्याम्पसको उदाहरण दिए, जहाँ ४० विद्यार्थी मतदाता थिए र ३७ मत खसेको थियो । त्यहाँ २६ मत प्राप्त गरेर विजयी भएको व्यक्तिलाई लिङदेनले गर्वका साथ बधाई दिएको उनले उल्लेख गरे । “दुई वर्षअघिको निर्वाचनको मत पुरानो लाग्छ भने स्ववियु निर्वाचनको ताजा परिणाम हेरौँ,” शर्माले भने, “राप्रपाका अध्यक्षको फेसबुक पोस्टमा एउटा दारी भएको व्यक्तिको फोटो छ, जसलाई उहाँले झापाको ४० मतदाता भएको क्याम्पसमा २६ मत जितेकोमा बधाई दिनुभएको छ ।”

उनले यो क्याम्पस राजावादीहरूले जितेको एकमात्र उदाहरण भएको भन्दै युवा जनमत गणतन्त्रको पक्षमा रहेको जिकिर गरे । शर्माको यो भनाइले स्ववियु निर्वाचनको परिणामलाई गणतन्त्रको लोकप्रियताको आधार बनाउँदै राप्रपालाई चुनौती दिएको छ । यो कटाक्षले कांग्रेस र राप्रपाबीचको वैचारिक मतभेदलाई थप उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *