काठमाडौं, चैत्र १४, २०८१
ईप्रेस मिडिया
काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लखनउ सुपर जायन्ट्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार राति सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै सिजनको पहिलो सफलता हात पारेको हो। पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले पराजित भएको लखनउले दोस्रो खेलमा शानदार पुनरागमन गरेको छ।
हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लखनउको जितमा निकोलस पूरन र मिचेल मार्शले अर्धशतकीय पारी खेले। पूरनले २६ बलमा ६ छक्का र ६ चौकासहित ७५ रन बनाए भने मार्शले ३१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे। यो सिजनमा दुवै खेलाडीको लगातार दोस्रो अर्धशतक हो। यस्तै, अब्दुल समदले अविजित २२, कप्तान ऋषभ पन्तले १५ र डेविड मिलरले अविजित १३ रन बनाए। हैदराबादका लागि कप्तान प्याट कमिन्सले २, एडम जाम्पा र मोहम्मद शामीले १-१ विकेट लिए।
यसअघि, राजीव गान्धी इन्टरनेसनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। ट्रभिस हेडले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अनिकेत वर्माले ३६, नितिशकुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६, प्याट कमिन्सले १८ र हर्षल पटेलले अविजित १२ रन जोडे। लखनउका शार्दुल ठाकुरले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने आवेश खान, रवि विश्नोई, प्रिन्स यादव र दिग्वेश राठीले १-१ विकेट हात पारे।
हैदराबादको यो सिजनको पहिलो हार हो। पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग स्तब्ध भएको छ। लखनउको यो जितले टोलीको मनोबल उच्च हुने अपेक्षा गरिएको छ।

