रास्वपा संसदीय दलमा काँग्रेसको संसद अवरोधबारे छलफलः मंगलवारको संसद बैठक स्वभाविक रुपमा अघि बढ्ने अपेक्षा

राजनीति हेडलाइन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरेको संसद अवरोधको बारेमा छलफल भएको छ ।

आईतवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा संसदमा नेपाली काँग्रेसले सहकारी प्रकरणको विषयमा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएकोबारेमा छलफल भएको हो । बैठकको बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा प्रमुख प्रतिपक्ष दलले संसदमा आन्दोलन गरिरहँदा संसद पेचिलो बन्दै गएकोबारेमा संसदीय दलको बारेमा छलफल भएको बताउनु भयो । उहाँले आफू प्रमुख प्रतिपक्ष दल काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको बताउनु भयो । उहाँले सभामुख देवराज घिमिरेले सोमवार प्रमुख सचेतक र नेताहरुको बैठक बोलाउनुभएको र सोही बैठकबाट मंगलवारको संसद निर्वाध रुपमा अघि बढ्ने अपेक्षा राखेको बताउनु भयो । उहाँले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइहरु राख्नुभएको र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकार िगराएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी सत्ता साझेदारीमा गएपछि संसदमा खेलनुपर्ने भुमिका र प्रभावकारीता बढाउने विषयमा छलफल भयो । सरकारले विभिन्न विधेयक ल्याएको छ, विभिन्न काम गर्छ, त्यो काम कारबाहीलाई कसरी संप्रेषण गर्ने, एकरुपता ल्याउने भन्नेबारेमा संसदीय दलको बैठकमा छलफल भयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीज्युहरुले आफूले आजसम्म गरेका कामहरुको ब्रिफिङ गर्नुभयो । संसद पेचिलो ठाउँमा गएर अड्किएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल आन्दोलनमा छ । त्यो विषयमा हिजो पनि संवाद गरेका थियौँ, आज पनि त्यो गाँठोलाई कसरी फुकाउने र संसदलाई सहज बनाउँदै अघि जाने भन्नेमा छलफल भएको छ । संसद अवरोधको विषयमा म आफू पनि निरन्तर प्रमुख प्रतिपक्ष र अन्य दलहरुलसँग संवादमा छु । सम्माननीय सभामुखज्युले पनि एउटा पहल लिनुभएको छ, सभामुखज्युसँग हामी बिहान बस्दैछौँ । भोलि हामी बसेपछि २७ गतेको संसदको काम कारबाही स्वभाविक रुपमा अघि जान्छ ।’

प्रमुख सचेतक परियारले सरकारले गरेका कामलाई संप्रेषण गर्ने, संसदमा प्रभवकारी रुपमा प्रश्तुत हुने बारेमा छलफल भएको पनि बताउनु भयो । संसदीय दलको बैठक जारी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *