रास्वपाको भर्त्सना: राजावादीको हिंसात्मक प्रदर्शनप्रति आपत्ति, कारबाहीको माग

राजनीति हेडलाइन

काठमाडौं, चैत्र १६, २०८१
ईप्रेस मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी, तोडफोड र हिंसात्मक प्रदर्शनको घटनाप्रति कडा आपत्ति जनाउँदै भर्त्सना गरेको छ। पार्टीले लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलनको अधिकार सुनिश्चित भए पनि अराजकता र जनधनको क्षति गर्ने गतिविधिलाई स्वीकार गर्न नसकिने जनाएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत भनेका छन्, “लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता हो। शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार र नागरिक सहभागिताको स्वीकृत विधि भए पनि अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट र आगजनी जस्ता घटनाप्रति हामी घोर भर्त्सना गर्छौं।”

रास्वपाले शुक्रबारको हिंसात्मक घटना भड्काउने र जनधनको क्षति पुर्‍याउनेहरूमाथि कडा कारबाहीको माग गरेको छ। साथै, आन्दोलनरत पक्षलाई आगामी दिनमा जिम्मेवार र शान्तिपूर्ण रूपमा प्रस्तुत हुन सचेत गराएको छ।

सरकारको दायित्व र शोक व्यक्त

पार्टीले आमजनताको सम्पत्तिको सुरक्षा गर्नु र हिंसात्मक भीडलाई संयमित रूपमा नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गरेको छ। शुक्रबारको प्रदर्शनका क्रममा भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

पार्टीको गाडीमा आगजनीको निन्दा

राजावादी समूहले भक्तपुरतर्फ गइरहेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी बालकुमारीमा जलाइदिएको घटनाप्रति पनि पार्टीले कडा निन्दा गरेको छ। यो घटनालाई पार्टीले लोकतान्त्रिक मूल्यमान्यताविपरीतको अराजक कार्यको संज्ञा दिएको छ।

शान्तिको अपिल

रास्वपाले घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनको सूचनाअनुसार सबैलाई आ-आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन अनुरोध गरेको छ। पार्टीले यस्ता घटनाले लोकतन्त्र र शान्तिपूर्ण सहअस्तित्वमा आघात पुग्ने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *