काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीको सबलीकरणका लागि केन्द्रीय सचिवालयले प्रस्ताव गरेका विभिन्न एजेण्डाहरूमाथि गहन छलफल भइरहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी चुनावी रणनीति, जनसम्पर्क अभिवृद्धि, समसामयिक राजनीतिक मुद्दाहरूमा पार्टीको धारणा निर्माण लगायतका विषयहरूमा छलफल केन्द्रित रहेको बताइएको छ। बैठकका निर्णयहरूले आगामी दिनमा राप्रपाको राजनीतिक गतिविधि र भूमिकालाई दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ नेताहरू, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू लगायतको सहभागिता रहेको छ। बैठकका निर्णय र थप विवरणहरू आधिकारिक रूपमा सार्वजनिक गरिने राप्रपाले जनाएको छ।

