रथी दर्जामा पदोन्नति प्रकृयाबारे सम्प्रेषित समाचारहरु भ्रमपूर्ण रहेको नेपाली सेनाले एक विज्ञप्ती मार्फत जनाएको छ ।
आज प्रकाशित विज्ञप्तिमा स्वीकृत दरवन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्रकृया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रकृयालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको भनिएकोछ ।
पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुंदाहुंदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढङ्गले सञ्चार माध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनुलाई नेपाली सेनाले खेदजनक भनेकोछ ।
त्यस्तै, हरेक तह वा दर्जामा पदोन्नतिको स्पष्ट प्रावधान र प्रकृया रहेको नेपाली सेनामा ब्यक्ति बिशेषको पदोन्नतिका लागि राजनीतिक नेतृत्व तहबाट दबाब रहेको भन्नुमा कुनै सत्यता नरहेको पनि नेपाली सेनाले जनाएको छ ।
उक्त विज्ञप्तिमा नेपाली सेनाकाबारे भ्रम फैलाउने ढङ्गले पूर्वाग्रह प्रेरित सामग्रीहरू सम्प्रेषण नगरिदिन सम्बद्ध जिम्मेवार मिडियाकर्मीहरूमा अनुरोध गरिएकोछ ।
विज्ञप्तिको पुर्णपाठ :
- नेपाली सेनाको रथी दर्जामा पदोन्नति सिफारिस सम्बन्धी सूचनाका बारेमा केही अनलाइन मिडियामार्फत सम्प्रेषित सामग्रीहरू नेपाली सेनाको जानकारीमा आएका छन् ।
- स्वीकृत दरवन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्रकृया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रकृयालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको ब्यहोरा जानकारी गराइन्छ । पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुंदाहुंदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढङ्गले सञ्चार माध्यममार्फत भ्रम फैलाउने प्रयत्नहुनु खेदजनक छ ।
- यस्तै, प्रारम्भिक चरणमै रहेको उक्त प्रकृयामा विभागीय मन्त्री लगायत राजनीतिक नेतृत्व र प्रधानसेनापतिको स्वार्थ र दबाब रहेको भन्ने निराधार एवं कपोलकल्पित सामग्रीको समेत नेपाली सेना खण्डनगर्दछ । हरेक तह वा दर्जामा पदोन्नतिको स्पष्ट प्रावधान र प्रकृया रहेको नेपाली सेनामा ब्यक्ति बिशेषकोपदोन्नतिका लागि राजनीतिक नेतृत्व तहबाट दबाब रहेको भन्नुमा कुनै सत्यता छैन ।
- विधि, पद्धति र लामो समयको स्थापित अभ्यासहरूबाट निर्देशित भई क्रियाशील नेपाली सेनाकाबारे भ्रम फैलाउने ढङ्गले पूर्वाग्रह प्रेरित सामग्रीहरू सम्प्रेषण नगरिदिन सम्बद्ध जिम्मेवार मिडियाकर्मीहरूमा अनुरोध छ ।


