मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

कला

जनकपुर। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।

नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु विधि गर्दै आजदेखि सुरु भएको हो ।

व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन्।

त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गरिनेछ।

व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन्।  यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ।

देवतालाई चढाएकै तेलमध्येबाट आआफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। यसलाई स्थानीय भाषामा माछ मरुवा कोदो’ भनिन्छ। प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ।

त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ। प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ। त्यसपछि उपवासको क्रम सुरु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *