माओवादी केन्द्रको सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सुरु, पार्टीप्रति जनआकर्षण बढेको प्रचण्डको दाबी

राजनीति

काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा केन्द्रीय पदाधिकारीहरू, सल्लाहकार समिति, र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरूको उपस्थिति रहेको छ।

बैठकको सुरुवातमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको बताए। हालै सातै प्रदेशमा परामर्श बैठकमा सहभागिता जनाएर फर्केका उनले मोरङ, सुनसरी, र झापामा पार्टीप्रति जनताको समर्थन थपियो भन्ने महसुस भएको बताए।

प्रचण्डले भने, “पहिले सरकार छाडेपछि कार्यकर्ता निराश हुन्थे, तर अहिले जनताले भ्रष्टाचार र माफियाहरूको षड्यन्त्रले हटाएको बुझ्न थालेका छन्। यो समयलाई अवसरमा बदल्दै, पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन जरुरी छ।” उनले केन्द्रीय समिति बैठकमार्फत संगठन सुदृढीकरण र जनपरिचालनका नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

बैठकमा सहभागी सल्लाहकार र अग्रजहरूको अनुभव र सुझाव सुनेर केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विभिन्न प्रदेशमा परामर्श बैठकहरू गरिसकेको माओवादी केन्द्रले अब प्रवास प्रदेशअन्तर्गत अमेरिका र यूरोपका संगठन बैठकहरू सम्पन्न गर्ने तयारी गरिरहेको छ।

ईप्रेस मिडिया, असोज २, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *