ई-प्रेस मिडिया, चैत्र २०, २०८१
माउन्ट एभरेस्टको बेस क्याम्पमा कार्यरत एक नेपाली कामदारको उचाइजन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान डोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका-९ निवासी ५५ वर्षीय लानिमा शेर्पाको रूपमा भएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेले दिएको जानकारीअनुसार, शेर्पा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा रहेको बेस क्याम्पमा काम गरिरहेका थिए। डीएसपी घिमिरेका अनुसार, चैत्र १६ गते साँझ ७:३० बजे शेर्पाको स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई उपचारका लागि खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा घोडामा राखेर थुक्ला पुर्याइएको थियो, तर त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो।
उचाइका कारण हुने स्वास्थ्य जटिलताले शेर्पाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ई-प्रेस मिडिया

