मर्स्याङदी गाउँपालिकाद्धारा जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्वुलेन्स सेवा

प्रदेश-पालिका

लमजुङ, २०  असाेज । लमजुङको मस्र्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका जेष्ठ नागरिकहरुला निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । 
 
गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ति आवश्यक परेका खण्डमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्वुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।    

गाउँपालिकाको यस अघि भएको गाउँ सभाबाट निति तथा कार्यक्रमबाट नै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपोचारका लागि निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोही निर्णयलाई कार्यन्वयनमा ल्याईएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । 
 
गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ती जिल्ला अस्पतालसम्म पुग्नु पर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ । 
 
मर्स्याङदी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सँगै समय अनुकुल मिलाएर धार्मिक स्थलहरुको भ्रमण गराउने पनि योजना बनाएको छ । पालिका भरिका जेष्ठ नागरिकहरुलाई समुह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरुको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ । 
 
सो बाहेक गाउँपालिकाले जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण पनि गर्ने जनाएको छ । बिभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुलाई गाउँ टोलमा खटाएर जेष्ठ नागरिकहरुको नियमित निःशुल्क स्वास्थ्य परिक्षण गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । 
 
गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरुलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउँदै आएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *