काठमाडौँ, चैत १२, २०८१ – सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको बैठकले गरेका २७ वटा निर्णयहरू जानकारी गराएका छन्।
मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। उनको स्थानमा हितेन्द्रदेव शाक्य, ललितपुरलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरिएको मन्त्री गुरुङले बताए।
त्यस्तै, बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि ऋण सहायता सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। साथै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरिएको छ।
अन्य महत्त्वपूर्ण निर्णयहरूमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन, उच्च अदालत जनकपुरको वाणिज्य इजलासलाई राजविराजमा स्थानान्तरण, र प्रधानमन्त्रीको नेतृत्वमा थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेक शिखर सम्मेलनमा सहभागिताको स्वीकृति समावेश छन्।
यसैगरी, नेपाली सेनामा सहायकरथी र महासेनानी पदमा बढुवा तथा सरुवा, मदन भण्डारी राजमार्ग आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति, र नेपाल-थाइल्याण्डबीच संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय पनि भएका छन्।
ईप्रेस मिडिया

