मनिष झाको कडा प्रश्न : तीनकुने घटनामा सरकार जवाफदेही हुनुपर्छ, उच्चस्तरीय छानबिन जरुरी !

राजनीति हेडलाइन

काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता मनिष झाले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा सरकारले एक पक्षलाई मात्र दोष थोपरेर पन्छिन खोजेको आरोप लगाएका छन् । सोमवार संसद् बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षबाट भएको अराजकता पनि सम्झन आग्रह गरे । “अहिलेको सत्तापक्षबाट भएको अराजकता सम्झिन आग्रह गर्छु, यस्तो नगर्नुस्,” उनले भने ।

झाले प्रधानमन्त्रीको ध्यान विदेश भ्रमणमा बढी केन्द्रित भएको र राजनीतिक तरङ्गप्रति मौन बसेको टिप्पणी गरे । “प्रधानमन्त्रीले तयारी पुगेन भन्नुभयो, तर स्वीकार गर्नु मात्रै काफी छैन । दुई जनाको ज्यान गयो, सम्पत्तिको क्षति भयो,” उनले थपे । उनले गृह प्रशासन तीनकुने घटनामा पूर्ण रूपमा असफल भएको दाबी गर्दै प्रश्न उठाए, “चार हजार प्रदर्शनकारीलाई गृह प्रशासनले किन नियन्त्रण गर्न सकेन ? सविन श्रेष्ठलाई पछाडिबाट गोली हानियो, यो कसरी सम्भव भयो ?”

सांसद झाले घटनाको निष्पक्ष जाँचका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे । “एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन, यो गम्भीर विषय हो,” उनले जोड दिए ।

तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सबिन श्रेष्ठको मृत्यु भएको थियो भने अर्को एक जनाको पनि ज्यान गएको थियो । यो घटनाले सरकारको सुरक्षा व्यवस्था र जवाफदेहितामाथि ठूलो प्रश्न उठेको छ । झाको यो सम्बोधनले संसदमा सरकारमाथि थप दबाब बढाएको छ भने छानबिनको मागले नयाँ बहसको ढोका खोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *