काठमाडौं । भदौ महिनामा कुल कारोबार कित्तामा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको छ। भदौ महिनामा कुल ५७ करोड १९ लाख ६५ हजार कित्ता धितोपत्र कारोबार भएकोमा अपि पावरले १ करोड ८० लाख ६८ हजार कित्ता शेयर कारोबार गर्दै सबैभन्दा अगाडि रह्यो।
नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अपि पावर जलविद्युत कम्पनीहरूमध्ये लगानीकर्ताको मुख्य आकर्षण बन्न सफल भएको छ। यस कम्पनीले गत वर्षको मुनाफाबाट कुल ९ दशमलव ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश प्रस्तावित छ। कम्पनीले आगामी कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएर लाभांश पारित गर्ने तयारी गरेको छ।
यद्यपि, भदौ महिनामा अपि पावरको शेयर मूल्यमा गिरावट आएको छ। अघिल्लो महिनाको तुलनामा ५६ रुपैयाँ ३० पैसाले घटेर, समग्र बजारको गिरावटसँगै अपि पावरको शेयर मूल्यमा पनि असर परेको हो। साउन महिनाको अन्तिम दिन ३ हजार दशमलव ८१ विन्दुमा रहेको नेप्से भदौ महिनाको अन्तिम दिन २ हजार ५८० दशमलव ७६ विन्दुमा बन्द भएको थियो, जसले धितोपत्र दोस्रो बजारमा ४२० अंकको गिरावट देखायो।
जलविद्युत कम्पनीहरू भदौ महिनामा लगानीकर्ताको विशेष चासोको विषय बनेका छन्। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीहरूमध्ये ६ जलविद्युत कम्पनीहरू रहेका छन्। दोस्रोमा अरुणभ्याली हाइड्रोपावर, तेस्रोमा कुमारी बैंक, चौथोमा हिमाल दोलखा, पाँचौमा अपर तामाकोशी, र छैठौंमा हाइड्रोइलेक्ट्रिसिटी रहेको छ।
सातौमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आठौमा प्रभु बैंक, नवौंमा अरुण काबेली पावर, र दशौमा सिंगटी हाइड्रो पनि सर्वाधिक कारोबार गर्ने सूचीमा परेका छन्। सस्तो मूल्य भएका कम्पनीहरूको शेयर कारोबारमा भदौ महिनामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ।
ईप्रेस मिडिया
आश्विन ४, २०८१

