बैंकहरूको खराब कर्जा बढ्दै, वित्तीय क्षेत्रमा तरंग

अर्थतन्त्र विचार-वार्ता हेडलाइन

काठमाडौं – आर्थिक मन्दीको प्रभाव बैंक तथा वित्तीय संस्थाहरूमा गहिरिँदै जाँदा खराब कर्जाको अवस्था चिन्ताजनक बन्दै गएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्ममा यो ४ प्रतिशत नाघ्ने प्रक्षेपणले वित्तीय क्षेत्रमा तरंग ल्याएको छ। यसले बैंकहरूको नाफा घट्ने, लाभांश वितरणमा कठिनाइ हुने र सेयर बजारमा समेत नकारात्मक असर पर्ने देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। लक्ष्मी,हिमालयन, कुमारी लगायतका बैंकहरूको खराब कर्जा ५ प्रतिशत हाराहारी पुगेको छ भने अन्य केही बैंकहरू पनि यो सूचीमा थपिने जोखिममा छन्।

यसरी खराब कर्जा बढ्नुमा राष्ट्र बैंकको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना सम्बन्धी कडाइ प्रमुख कारक रहेको बैंकर्सहरू बताउँछन्। कोभिड महामारीपछि अर्थतन्त्र चलायमान हुन नसक्नु, तरलता अभाव, उच्च ब्याजदर लगायतका कारण पनि ऋणीहरूले समयमै कर्जा तिर्न नसक्दा यो समस्या विकराल बन्दै गएको हो।

खराब कर्जा बढ्दा बैंकहरूले थप प्रोभिजनिङ गर्नुपर्ने भएकाले नाफा घट्छ। यसले गर्दा लगानीकर्ताहरूले पाउने लाभांश पनि घट्ने वा रोकिन सक्छ। फलस्वरूप सेयर बजारमा बैंकहरूको सेयर मूल्यमा गिरावट आउन सक्छ।

यस समस्या समाधानका लागि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्ने, बैंकहरूले कर्जा प्रवाह गर्दा जोखिम विश्लेषणलाई विशेष ध्यान दिनुपर्ने र खराब कर्जा व्यवस्थापनका लागि प्रभावकारी रणनीति बनाउनुपर्ने विज्ञहरू बताउँछन्।

यसका साथै, बैंकहरूले खराब कर्जा असुलीलाई तीव्रता दिनुपर्ने, सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने र नयाँ कर्जा प्रवाह गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

समग्रमा, बढ्दो खराब कर्जाले नेपालको वित्तीय क्षेत्रमा गम्भीर चुनौती खडा गरेको छ। यसलाई समयमै सम्बोधन गर्न नसके अर्थतन्त्रमा दूरगामी असर पर्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *